लेथ मेसिनका दक्ष सानुमान जलारीकाे मेहनतको कथा
विज्ञान र प्रविधि
भाद्र १२, २०७७ | एजेन्सी

सानुमान जलारी पोखरामा २०७५ पुशमा सम्पन्न अधिवेशनबाट गण्डकी अटो मेकानिकल  वर्क्स एसोसिएसनका अध्यक्ष बनेका हुन् । उनी हाल पनि सोही पदमा निरन्तर कार्यरत छन् । यो भन्दा पहिले उनी एसोसिएसनको बरिष्ठ उपाध्यक्ष थिए । यद्यपि एसोसिएसनको स्थापना हुँदा २०४९ साल देखि नै उनी निरन्तर एसोसिएसन सदस्यको रुपमा आवद्ध थिए ।

पोखरा र आसपासको क्षेत्रका अटो मेकानिक्सहरुको संगठनको रुपमा गण्डकी अटो मेकानिकल  वर्क्स एसोसिएसन परिचित छ । अटो मेकानिक्सहरुको हकहितका लागि कार्यरत एसोसिएसनलाई समय समयमा नेतृत्व प्रदान गरेकाहरु भन्दा सानुमानको नेतृत्व अलि फरक छ । उनी इमान्दार, सरल र संघर्षबाट खारिएर आएको मात्र होइन, आफ्नो पेशामा प्रतिवद्ध समेत मानिन्छन् ।

सानुमान जलारी पोखराको प्रसिद्ध लेथ वर्कसप ‘सुशान्ती वर्कसप’ का संचालक हुन् । पोखराको नयाँ बजारमा अवस्थित सुशान्ती वर्कसप लेथ सम्बन्धी कार्यका लागि गण्डकी अञ्चलमै एक मात्र लोकप्रिय वर्कसपको रुपमा परिचित छ । यसको लोकप्रियताको पछाडि सानुमान जलारीको बर्षौ लामो मेहनतको कथा जोडिएको छ ।

सानुमानको पुख्र्यौली पोखराको नयाँ बजार नै हो । उनी करिव १२ वर्षकै कलिलो उमेरमा उनी भारतको लखनउ पुगेका थिए । त्यो समयमा राम्दी पुल थिएन । राम्दीको माथि काठको पुल भएको र आफ्नो जेठा बाको छोराको साथमा कतै हिड्दै त कतै टिपरमा यात्रा गरेको सम्झना उनलाई अझै पनि छ ।

लखनउ पुगेर उनले एम्बेसडर र फिएट गाडी बनाउने वर्कसपमा काम गर्न थाले । त्यही नै पुरानो लेथ मेसिन पनि थियो । उनले त्यो समयमा लेथ सम्बन्धी कार्य मात्र होइन, त्यो समयका पेट्रोल गाडी बनाउने काम समेत सिके । लखनउमा यसरी काम गरेर करिव ६ वर्ष पछि उनी पोखरामै बस्ने गरी फर्के ।

पोखरा आएर केही समय उनले अर्काको वर्कसपमा काम गरे । त्यसपछि महेन्द्रपुलमा आफैले नै मासिक ३० रुपैयाँ भाडा तिरेर आफ्नै वर्कसप खोले । पछि यसलाई आफ्नै घर कम्पाउन्डमा नयाँ बजार सारे ।

हाल सुशान्ती वर्कसपमा लेथ सम्बन्धी सबै काम हुन्छ । अन्य स्थानमा नभएका कार्य समेत यही गर्न सकिन्छ । उनीसँग भएको मिलिङ मेसिनले जस्तो बनावटको आए पनि गियर काट्ने काम गर्छ । नेपालका अधिकांश प्रोजेक्टहरुको गियर यहीबाट काटेर पठाउने गरेको जलारी सगर्व बताउछन् । भन्छन्, ‘कुनै पनि गियर बनाउन सक्छु । मलाई नक्सा भन्दा पनि आकार मात्र भए पुग्छ ।’

हाल सुशान्ती वर्कसपमा मिलिङ मेसिन वाहेक सिधा गियर काट्ने र चाबी काट्ने तथा विभिन्न आकार प्रकारका लेथ मेसिन उपलब्ध छन् । भारतको गोरखपुर, लुधियाना आदि स्थानबाट समय समयमा खरिद गरिएका यी लेथ मेसिन नै वर्कसपको पहिचान बनेका छन् । यी सबैको सहायताले गाडी र इन्डष्ट्रियल क्षेत्रका लागि आवश्यक लेथ सम्बन्धी सबै कार्य गर्न सहज भएको छ । साभार: नेपालअटाे

सानुमान जलारी भन्छन्, ‘मैले ३५/३६ साल देखि नै आल्मुनियम वेल्डिङ सम्बन्धी सबै कार्य गर्दै आएको छु । डिस्क, गियरबक्स, इन्जिन ब्लकको सबै कार्य गर्दै आएको छु । बाइक देखि गाडी सम्मको सबै कार्य हुन्छ ।’ उनले करिव ६ वर्ष पहिले सरफेसिङ ग्राइन्डर समेत ल्याएर सेवा प्रदान गरिरहेका छन् । यसले पेपर कटिङ मेसिनहरुको छुरामा धार लगाउने कार्य गर्छ । यसबाट ८४ इन्च सम्मको छुरामा धार लगाउन सकिने र गण्डकी अञ्चलमै यो सुविधा आफूले मात्र प्रदान गर्दै आएको उनले बताए ।

लेथ मेसिन नभई कुनै पनि फलाम सम्बन्धी कार्य गर्न सम्भव हुँदैन । विभिन्न प्रकारका नट बोल्ट, प्लेट आदि काट्नका लागि यसको प्रयोग गरिन्छ । यसैले सवारी साधन सम्बन्धी कार्यका लागि मात्र होइन, लेथ मेसिन विना कुनै पनि उद्योग चल्दैन । यसरी उद्योग संचालनमा प्रशान्ती वर्कसपले महत्वपूर्ण भूमिका खेलेको मान्न सकिन्छ ।

हाल गण्डकी अटो मेकानिकल  वर्क्स एसोसिएसनमा करिव ३ सय ३४ सदस्य छन् । यी सबैका अभिभावक बनेका छन् सानुमान जलारी । रोचक कुरा त के छ भने उनले कुनै पनि औपचारिक शिक्षा लिएका छैनन् । तर पनि उनको आफ्नो पेशाप्रतिको इमान्दारिताका कारण सफल बनेका छन् र सबैको प्रिय पनि ।

साथीभाई र नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका पदाधिकारीहरुले समेत बारम्बार अध्यक्ष बन्न गरेको आग्रहलाई टार्न नसकी अध्यक्ष बनेको उनी सधै बताउछन् । उनको कार्यकाल शुरु भए पश्चात रक्तदान, आँखा शिविर, मेकानिकल तालिम जस्ता नियमित कार्यहरु भएकै छन् । तर पनि आफ्नो कार्यकालमा एसोसिएसनको आफ्नै भवन बनाउने सपना रहेको उनले बताए । यद्यपि हालको परिस्थिति र अन्य विभिन्न कारणले त्यो सम्भावना क्षिण हुँदै गएकोमा भने उनी निकै नै दुःखी छन् ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.