मानहुँको विकासका लागि प्रदेश सरकारको चासो
स्थानिय समाचार
कार्तिक २७, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो ।

     गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार मानहुँकोटको अवलोकन गर्दै यहाँको विकासका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छन् । “मानहुँकोटको विकासका लागि एकीकृत ढङ्गबाट पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ”, मन्त्री गुरुङले भने, “यहाँ खानेपानी, सडक र सरसफाइको मुख्य समस्या देखिएको छ । गुरुयोजना बनाएर यसको समग्र विकास गर्न प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न तयार छ ।” यहाँको भौगोलिक अवस्थालाई नबिगार्ने गरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिएका छन् । मानहुँकोटमा प्याराग्लाइडिङ, पिङलगायतको पनि सम्भावना रहेकाले त्यसमा लगानी गर्न निजी क्षेत्रलाई मन्त्री गुरुङले आग्रह गरेका छन् । “समग्र योजना बनाएर अगाडि बढ्न सकिने विषयमा अध्ययनका लागि म मानहुँकोट आइपुगेको हूँ, यहाँको मुख्य समस्या भनेको खानेपानीको देखियो, त्यसका लागि अध्ययन तत्कालै शुरु गरिनेछ”, उनले भने ।

     त्यस्तै प्रदेशसभा सदस्य आशा कोइरालाले मानहँुकोटलाई गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरिने बताएका छन् । “व्यास नगरपालिकाको तर्फबाट पनि यहाँ विकास योजना अगाडि बढिरहेको छ, नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सबै सहयोग गर्छौँ”, कोइरालाले भने ।

     व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँको विकास र प्रवद्र्धनमा नगरपालिका अत्यन्त प्रतिबद्ध भएर लागेको बताएका छन् । मानहँुकोटबाट प्याराग्लाइडिङ गर्न सकिने सम्भावना भए पनि यहाँ भएका टेलिकम र विद्युत्का तारहरुका कारण समस्या आएकाले सम्बन्धित निकायसँग समन्वय गरेर यहाँको तार हटाउन पहल गरिने न्यौपानेले जानकारी दिएका छन् । मानहुँकोटमा पूर्वाधार निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गरिने नगरप्रमुख न्यौपानेले बताएका छन् ।

 

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.