आजदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन् । परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता मापदण्ड कडाइपूर्वक पालना हुने भएकाले ढुक्क हुन उनको अपिल छ ।
यस्तै परीक्षा केन्द्र वरपर भीडभाड नगर्न मन्त्री पोखरेलले अभिभावकसँग आग्रह पनि गरेका छन्। परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड सङ्क्रमण पुष्टि भएर परीक्षामा सहभागी हुन नसक्ने अवस्था आएमा फेरि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको पनि उनले स्पष्ट पारेका छन्।
त्यस्तै सरकारले सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ ।
देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ भने ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक विष्णुनारायण श्रेष्ठका अनुसार गण्डकीका १० जिल्लाबाट परीक्षामा ३८ हजार ८७७ जना सहभागी हुँदैछन् । यसमा नियमिततर्फ ७ हजार ८४६, पार्टसियल तर्फबाट ११ हजार ३१ जना सहभागी हुने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार गण्डकी प्रदेशमा मनाङबाट सबैभन्दा थोरै विद्यार्थी सहभागी हुँदैछन् । मनाङमा २ परीक्षा केन्द्रबाट ६९ जना परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै कास्कीमा १३२ परीक्षा केन्द्रमा १४ हजार ७२० जनाले परीक्षा दिदैछन् । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन बोर्डले निर्देशन दिएको छ । भोलिदेखि सुरु हुने परीक्षा मंसिर १६ मा सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बोर्डले जनाएको छ ।