सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह
राष्ट्रिय
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौं, तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो ।’ प्रधानमन्त्री ओलीले भने ।

अर्काे प्रसंगमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताएका छन् । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनार्ई थियो । उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी ३ वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै हालसम्म कञ्चनजंघामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताएका छन् । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाई थियो । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई ५ लाखको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेकी छिन् । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरिन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.