युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) द्वारा स्थापित एवम् सञ्चालित युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बाँस्तोलाको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पौडेल इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख एवम् रेडियो बाराहीका समाचार संयोजक हुन् । विसं २०५९ मा पत्रकारिता थालेका पौडेल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिवको जिम्मेवारीमा रहेका छन् । यही मङ्सिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिएका छन् । पुरस्कारको राशि रु २० हजार र साथमा ताम्रपत्र रहने छ । यसअघि सो पुरस्कारबाट पत्रकार ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भईसकेका छन् ।