सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण देशको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । त्यही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपरघट भएको हुन सक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।
मन्त्रिपरिषदबाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ । सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । त्यहीबमोजीम नेपाल र चीनका सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए ।
यसअघि विभिन्न देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर कायम रहिआएको छ ।