कांग्रेसको १४ औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील
राष्ट्रिय
साउन १२, २०७८ | रासस

 कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् । जसमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला एक लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन् । 
 
कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६, वाग्मती प्रदेशमा एक लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ रहेका छन् । 
 
क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार कांग्रेस क्रियाशील सदस्यमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४, ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४, ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ वर्षभन्दा बढी उमेर समूहका ११ हजार ७७२ जना रहेका छन् । 
 
क्रियाशील सदस्यता छानबिन समितिमा ४६ खाले उजूरी तथा गुनासो प्राप्त भएको थियो । नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाएको समितिले नयाँ क्रियाशील सदस्यता नामावलीलाई आगामी १४औँ महाधिवेशनका लागि स्थगन गरी उक्त महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्ने प्रतिवेदनमा उल्लेख छ । 
 
कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा प्रदीप पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । क्रियाशील सदस्यता नामावली टुङ्गिएसँगै अब पार्टीको १४औँ महाधिवेशनको प्रक्रियासमेत शुरु हुने भएको छ । शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी एवं  पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिनको काम नसकिएको भन्दै साउन १२ गते अर्थात् (आजदेखि) शुरु हुने पार्टीको तल्लो तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । सो बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ का बारेमा भने केही निर्णय गरेको थिएन । 
 
पार्टीको आज पनि पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निजी निवासमा बसिरहेको छ । आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरी महाधिवेशनको नयाँ मिति टुङ्गो लगाउनेबारे छलफल हुनेछ । 

कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ को
आश्वीन २, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल
आश्वीन १, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बिरामीका आफन्तको आक्रमणबाट स्वास्थ्यकर्मी घाइते, आवश्यक
भाद्र ३१, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.